Romans 5

1हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौँ । 2हामीले उहाँप्रतिको विश्‍वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौँ भन्‍ने दृढतामा रमाउँछौँ ।

3यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । 4सहनशीलताले सहमति उत्पन्‍न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्‍न गराउँछ । 5यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।

6किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो । 7एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो ।

8तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनकि हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो । 9अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ ।

10हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ । 11यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौँ ।

12यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे । 13किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।

14तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो । 15तरै पनि यो सित्तैँको वरदान अधर्म जस्‍तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्‍वरको अनुग्रहले अझ धेरै गर्‍यो र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् ।

16किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना ‍मानिसको अपराधले दण्डको न्‍याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । 17एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्‍त गर्नेले एक जना अर्थात् येशू ख्रीष्‍टको जीवनद्वारा अझ धेरै राज्‍य गर्नेछ ।

18यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो । 19जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।

20तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो । ताकि जसरी पापले मृत्युद्वारा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।

21

Copyright information for NepULB